बिहिबार २८ जेठ २०८३

के पी भुसाल ‘अजस’

नेपाली जनता दुखी गरिवले बाँच्नै नसक्ने भयो,
भ्रष्टाचार भयो अथा मुलुकले धान्नै नसक्ने भयो ।
यस्तो खेल बुझे अनेक जनले , बोल्थे कतैता तर,
घाती मात लिए झनै लुटनमा केही नमानी डर ।।

जेन्जी ती कलिला यसै मुलकका,जागे जगाए अनि,
पूरा देशभरी विरोध रहदा, जन्ता सघाए पनि ।
साझा लक्ष थियो सबै युगलको,लाग्थे सबै सुन्दर,
भन्थे आपसमा बनाउँ अवता, नेपाल नै उज्जर ।

जेन्जीका सब ती मुना मुलुकका,भन्थे सबै सच्चिन,
यस्ता भ्रष्ट रहेर,उच्च पदमा नेपाल यो बन्दिन ।
सारै शिष्ट हुदै प्रदर्शन गरे , दोषी थिएनन् तर,
नेपाली जनमा गडे दुखदका,भुल्नै नसक्ने शर ।।

एकाएक चले अकल्पित कठै गोली सहस्रै जसै,
थाले ढल्न कठै निरीह कलिला,ती बालबच्चा तसै ।
चल्छन् क्वै दिनमा डराउन दिदै गोली कहीँ ता तर,
चल्दैनन् त्यसरी निरीह बबुरा,ताकेर छाती शिर ।।

रक्ताम्यै कलिला मुना कति भने पीडा सकस्मै रहे,
जल्दै खाक हुदा धरोहर ठुला , भग्नावशेषै भए ।
आगोमा परने कठै नरहरू , ज्यानै गुमाए तर,
धेरै नोट जले छिपाइ कपटी, राख्दै गरेका घर ।।

के यस्तो घटना भयो, दुखदको भुल्नै नसक्ने भयो,
नेपाली जनका सबै घरघरै,पीडा र चिन्ता बढ्यो ।
सारै नै धरती विदारक भइन्, सन्तान गुम्दा तर,
गर्दैथे भतुवा कतै मुलुकमा, कुर्सी गुमेको पिर ।।

त्यो कालो दिनता बयासी सालको भाद्रै तेइस बुझी,
नेपाली जनका युगौं युग पिँढी,संझी हुनेछन् दुखी ।
साना बाल भए शहीद जसरी, तारा भए अम्मर,
चम्कन्छन् इतिहासमा युगल ती हट्लान् सबै बन्जर ।।

प्रकाशन मिति : २०८२ कात्तिक २५


Last Updated on: November 11th, 2025 at 11:27 am
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया