
श्याम घिमिरे, असार २१, अर्घाखाँची – धर्म, संस्कार र वैदिक शिक्षाको संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ मुक्तिनाथ विकास बैंक लिमिटेड, सन्धिखर्क शाखाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ भक्तिटोलस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा सञ्चालित पाणिनि वेद विद्याश्रमका वटुकहरूका लागि खाद्य तथा शैक्षिक सामग्री सहयोग गरेको छ । आइतबार बिहान आयोजित एक कार्यक्रममा बैंकका सन्धिखर्क शाखा प्रमुख बामदेव पौडेलसहितको टोलीले सिद्धेश्वर शिवालय मन्दिर सञ्चालक समितिलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत धर्म, शिक्षा र संस्कृतिको संरक्षणमा सानो भए पनि योगदान पुर्याउन पाउँदा बैंक गौरवान्वित भएको बताउनुभयो । उहाँले वैदिक शिक्षा नेपाली सभ्यता, संस्कृति र सनातन परम्पराको अमूल्य सम्पत्ति भएकाले यस्ता सेवामूलक तथा धार्मिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
करिब पचासहजार रुपैयाँ बराबरको उक्त सहयोग अन्तर्गत दैनिक भोजनका लागि आवश्यक चामल, दाल, तोरीको तेल, चिनी, चना लगायतका खाद्य सामग्री तथा वटुकहरूको अध्ययन र खेलकुदका लागि कापी, ज्यामिति बक्स, भलिबल, नेट, पम्प लगायतका शैक्षिक सामग्री प्रदान गरिएको शाखाका प्रबन्धक पौडेलले जानकारी दिनुभयो ।
शिवालय मन्दिरमा आवासीय रूपमा बस्दै आएका वटुक, मन्दिरका पुजारी तथा कर्मचारीहरूको दैनिक जीवनयापनमा यस सहयोगले महत्वपूर्ण राहत पुग्ने विश्वास गरिएको छ । मन्दिर सञ्चालक समितिका सचिव कृष्णप्रसाद भुसालले धार्मिक शिक्षाको संरक्षणमा बैंकले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गर्नुभयो ।
पाणिनि वेद विद्याश्रमका प्रधानाध्यापक भेषराज चुँदालीका अनुसार हाल कक्षा १० सम्म संस्कृत शिक्षा सञ्चालन भइरहेको विद्याश्रममा ४० जना विद्यार्थी अध्ययनरत छन् । मन्दिरका पुजारी सुमन्त पोख्रेलका अनुसार विद्यार्थी, पुजारी तथा कर्मचारीसहित बिहान–साँझ गरी दैनिक ८० जनाभन्दा बढीले मन्दिरमा भोजन गर्ने गरेका छन् ।
कार्यक्रममा सिद्धेश्वर शिवालय मन्दिर परिवारले मुक्तिनाथ विकास बैंकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै धर्म, शिक्षा र सेवाको भावनाले प्रेरित यस्ता सहयोगले गुरुकुल परम्पराको संरक्षण र वैदिक संस्कृतिको संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै बैंकको उत्तरोत्तर प्रगति, समृद्धि तथा सेवाभाव अझ सशक्त बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि गुरुकुलप्रति यस्तै आत्मीय सहयोग निरन्तर रहने अपेक्षा गरिएको छ । कार्यक्रम मन्दिरका पुजारी सुमन्त पोख्रेलको सहजीकरणमा सम्पन्न भएको हो ।