बिहिबार २९ आश्विन २०८३

 

                                                                                                                                                                               

  के पी भुसाल अजस 

घाँस काटेँ दिल बस्यो,खन्निउँमा,
बाँचे भेट अर्घाको पुन्निउँमा ।
डाँडा माथि वर,
न घर न माइत मलाई केको डर ।।

पानी खाँन लिऊ चिसो बेलामा,
हौँला भेट अर्घाको मेलाम,
छ छ मनैमा,
मेरो लाइटर खसो बनैमा ।।

घरता मेरो पातीले बारेको,
के गरुँतो करिमले पारेको ।।
झल्को लाइरनी,
हाँसेनी बोलेनी मन्ता रोइरनी ।।

केराको खम्मन जाऊँतो लाहुर,(लस्के स्वरमा)
हे हजुर,
गोरखपुर सम्मन ।।

नौनी घिउ लीसिक्कै नबोलेनि,
हे हजुर
हाँसिदिऊ खिसिक्कै ।।

(सुनिमाया लय)
सु नी मा या लई,उँ भो र दिशा, पो री र बाट, गा ई म रे को सिनो,
ए मे रो माया,से उ ली र राखे, ओ इ ला इ जाला, अ गु ठी रा खौँ चिनो।।
कहिले तल कहिले माथि काठेपिङ्को पिर्खा,
सय मूलको पानी खाँदा मेटिएन तिर्खा ।।

चुट्का –

एकमानेमा के छ के छ दुईमानेमा दैछ,
फुङ्गालेर मरुँ भने भुरुङ जत्रो पोइ छ ।।
छप्पकाटी दुधै आउने
लहरे पिपलु पानी माथि ।

चौध हजा प्यूठानैमा भाले बास्यो गाउँमा,
मेरो मन्ले भागौँ भन्छ के छ तिम्रो मन्मा ।।
छप्प काटी,,,,,,,,पानी माथि ।

यस्तै गीत अहो युवा र युवती भाखा तिखो गाउँथे,
पाखा भीर तथा पहाड चुचुरा पीडा सुनी झुक्दथे ।
मेलापात हुँदा बगाइ पसिना,खोज्थे बिसौनी अनि,
यिन्कै पीडनका विदारक सुनी रुन्थे चरीले पनि ।।

अर्घा एक पवित्र भूमि छ जहाँ यस्मै छन् देवालय,
मेला लाग्दछ बर्ष बर्ष यसमा,भन्छन् सबैले जय ।
जाडो मौसमको चिसो शरदमा बढ्दै गरेको थियो,
बेहानी पख हेर पूर्व नभमा लाली चढेको थियो ।।

अर्घा गाम यथा घरैघर सबै माहोल बेग्लै थियो,
नाता मात्र नभै अरू अतिथिको घेरा बढेको थियो ।
गाईगोठ तथा दलान सिकुवा खाली थिएनन् कतै,
यस्तै हालतमा बसेर नअटी, बस्थे खुलामा अझै ।।

बस्थे क्वै जनता चिसो अति भए बालेर आगो अनि,
काट्थे रात परालमा दुखदले,ओढेर घाँसै पनि ।।
जस्तो बालकमा बुझेँ म पहिले,गर्दैछु ब्याख्या अनि,
साठी वर्ष भए अहो मनभरी ,झल्को छँदैछन् पनि ।।

कुँडापानी मसुर्पाटा बाटा फाट्ने ठाउँ,
थियो त्येहीँ गुरुकुल पाठशाला नाउँ ।
रजस्थल पाठशाला सारै प्रख्यात थियो,
संस्कृतको शिक्षा यस्ले धेरैलाई दियो ।।

पाठशाला खोल्थे जुता धेरै भक्तजन,
खाली खुट्टा जान्थे अहो देवीदर्शन गर्न ।
भोकै हुन्थे भक्तजन चोखीनिधी गर्थे,
देवीदर्शन गरेपछि चोखो भोजन् गर्थे ।।

अक्षता छन् हात हात नैवेद्य र फूल ,
हुन्थे कतै भाक्कलका सामग्री र फूल ।
पूजा गर्थे शरण पर्थे अर्घामाई भनी,
धेरै आस्था राख्थे अहो कोही काम्थे पनि ।।

पुण्यभूमि नेपालमा धार्मिक् ठाउँ धेरै,
धार्मिक् मेला पनि लाग्छ ठाउँठाउँ खुबै ।
परम्परा रीतिथिती जोगाउनै पर्छ,
तब मात्र संसारमा शान हाम्रो बढ्छ ।।

दुई हजार् बाइस् साल मैना असौज थियो,
चौवीस् गते, रविबार सम्झनामा रह्यो ।
यसै दिन अर्घा मेला जस्तो जाने मैले,
ऊ बेलामा कस्तो हुन्थ्यो गर्छु बर्णन् ऐले ।।

हिजो आज अर्घा मेला बढ्दो छ है सारै,
ऊ बेलाका धेरै कुरा भए फरक् धेरै,
खाने कुरा सबै जना घरबाट ल्याउँथे,
कुना काप्चा बस्ने गर्थे मिलीजुली खान्थे ।।

अभाब् थियो शौचालय बस्ने ठाउँ अनि,
सारै अभाब् हुन्थ्यो अझै खानेपानी पनि ।
फोहर हुन्थ्यो जतापनि मान्छे धेरै हुन्थे,
पानी खोज्दै पँधेरामा भक्तजन पुग्थे ।।

भेट्दै कैयन दौँतरी युगलले गर्थे नि बाचा पुरा,
बस्थे रातभरी खुला हृदयले गर्थे मिजासी कुरा ।
सारै क्वै युवती बढाइ ममता भागेर गर्थे बिहे,
गर्दै आपसमा कुरा तब उनै, भन्थे सबैको जय ।।

गर्थे क्वै ननिका कुचाल उहिले भोग्थे युवा दुर्गति,
नारी क्वै अयसी भुलेर घरको,ताक्थे अरूका पति ।
यस्तै खेल हुँदा निरीह महिला पीडा सहन्थे अनि,
बिग्रन्थे घरबार कैयन अहो हुन्थे विरागी पनि ।।

मेला मौसममा मनुष्य खुसले भेला हुने गर्दछन्,
भेट्दै सज्जनले खुलेर मनका राम्रा कुरा गर्दछन् ।
गर्छन् दुर्जनले अकार्थ झगडा मेला भएता पनि,
हुन्थे क्वै दिनमा नसालु झगडा अर्घा दुखद्का पनि ।।

अर्घाको महिमा अपार छ सधैँ बढ्दो छ आस्था अनि,
सारै सुन्दर यो अहो प्रकृतिको हो देन शाश्वत् पनि ।
पुण्यस्थान तथा रजस्थल न हो,प्राचीन् कलाको धनी,
यस्को गौरवमा उजागर भए, संसार चिन्ने छनी ।।

(प्रस्तुत कविताबाट छ दशक भन्दा अघि कोजाग्रतपूर्णिमा र अघिल्लो दिन म आफैले बाल्यकालमा प्रत्यक्ष भोगे देखेका तत्कालीन अर्घाको विषयवस्तुलाई समेटेर एउटा सानो झल्को चित्रण गर्न खोजिएको मात्र हो )

प्रकाशन मिति : २०८३ असोज २८


Last Updated on: October 14th, 2026 at 8:49 pm
३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑