सोमबार २६ आश्विन २०८३

                                                            के पी भुसाल अजस

के आयो जमाना यस्तो
घोडा भन्दा भटभटे झन सस्तो
आधुनिक घोडा मेरो सारै सुत्ने गर्छ ,
निद्राबाट जगाउन लात्ती हान्नु पर्छ ।
चाहिँदैन लगाम् छडी कान छोपे पुग्छ ,
बटारेर कान यस्का लात हान्दा कुँद्छ ।।

पिताजी र माताजीको मन मैले जितेँ ,
रिन धन जुटाएर भटभटे किनेँ ।
लखर लखर घुम्दा डुल्डा नमान्नेले जाती ,
भटभटे किनेदेखि बन्नखोज्छन् साथी ।।

पैसो भने खासै हुन्न भोकलाग्दा खान,
भटभटे चढ्दै गर्दा बेग्लै हुन्छ शान ।
हिँड्दा डुल्दा कैलेकाहीँ धोका यस्ले दिन्छ ,
डो¥याएर हिँड्न पर्दा अल्ली लाज लाग्छ ।।

नभएनि गोजिमा दाम
भटभटे नचढी छोडिन
तेर्छो बाटो सजिलोमा छैन केही डर,
खोलो पैरो देख्यो भने पर्छ मेरै भर ।
हिलो धुलो उक्कालीमा थरथरी काम्छ ,
धन्य मेरो भटभटे ओरालीमा गुड्छ ।।

एक्लो देखे मलाई भने लिफ्ट माग्ने हुन्छन् ,
अल्लिपर जाने भन्दै विन्तीभाउ गर्छन् ,
नारी कोही पापी,जाली पार्छन् अरे खिन्न,
यसैले त नारीलाई लिफ्ट मैले दिन्न ।।

लान्छु जता मान्छे धेरै भटभटे उतै,
तब मेरो चर्चा हुन्छ जतापनि सधैँ ।
भएन भने इज्जत् मेरो पाइन भने मान,
निमठेर देखाइ दिन्छु भटभटेको कान ।।

र्याली हुन्छन् मुलुकमा थरीथरी जसै ,
खोजि हुन्छ भटभटे मान हुन्छ तसै ।
तेल मिल्छ खान मिल्छ बाटाखर्च मिल्छ ,
यसैलेत मेरो केही पकेटखर्च चल्छ ।।
बोकिन पार्टीको झोला
भटभटेले चिनायो दाइ मला ।।

छिमेकमा भटभटे छैनन् वर पर,
कहीँ कतै जानुपर्दा मेरै गर्छन् भर ।
भोकाएर भटभटे बिचबाटोमा थाक्छ ,
खल्ती छाम्दा पैसो हुन्न सारै दिक्क लाग्छ ।।

गाउँघरे गरीखाने सानो मान्छे म ता,
चिनापर्ची बढाउन गर्ने के र कता ?
चिन्नेजान्ने थेन कोही गुमनाम जात ,
धन्य मेरो भटभटे दिँदैछ है साथ ।।

प्रकाशन मिति : २०८३ असोज २४


Last Updated on: October 10th, 2026 at 9:33 am
८ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑