बिहिबार २९ आश्विन २०८३
श्याम घिमिरे

श्याम घिमिरे,असोज १७ अर्घाखाँची
सन्धिखर्क नगरपालीका २, चुत्रावेसीमा अवस्थीत त्रिवेणीधाम भजन मण्डली समूहको आयोजनामा ज्येष्ठ नागरिक सम्मान, समुद्घाटन तथा सहयोगदाता सम्मान कार्यक्रम सनिवार सम्पन्न भएको छ । कार्यक्रममा भजन मण्डलीको धार्मिक तथा सामाजिक अभियानमा सहयोग पुर्याउने सहयोगदाताहरू तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई समाजका अनुभव, संस्कार र ज्ञानका धरोहरका रूपमा सम्मान गर्दै उहाँहरूको योगदानको कदर गरिएको हो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले त्रिवेणीधाममा सुरु भएको भजन–कीर्तनको व्यवस्थापन तथा संरक्षणकालागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रेष्ठले भजन–कीर्तन धर्म र संस्कृतिसंगै सामाजिक एकता र पुस्ताबीचको सम्बन्ध जोड्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

समुहका अध्यक्ष विष्णुप्रसाद बन्जाडेको अध्यक्षता,सदस्य बसन्ता पौडेलको स्वागत मनतब्य र सचिव खिमानन्द खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समुहका कोषाध्यक्ष ताराप्रसाद बेल्वासेले आयव्यय समेत प्रस्तुत गर्नुभएको थियो ।

त्रिवेणीधाममा हुने भजन–कीर्तनमा बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसमेत सहभागी हुँदै भक्तिभावमा रमाउने गरेका छन् । भजनका तालमा मञ्जिरा बजाउँदै छमछमी नाच्ने र भगवानको नामस्मरण गर्ने भक्तजनका कारण धामको वातावरण थप भक्तिमय र उल्लासमय बन्ने गरेको छ ।

यसैक्रममा त्रिवेणीधाम र ऐतिहासिक सती ढुङ्गाको धार्मिक महिमा आरती तथा भजनमार्फत प्रस्तुत गरिएको छ । भजनमार्फत स्थानीय धार्मिक आस्था, परम्परा र संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गरिएको आयोजकले जनाएको छ । त्रिवेणीधाममा गुञ्जिने भजन–कीर्तनले धर्म, संस्कार, सेवा, सम्मान र पुस्तौँदेखिको आस्थालाई एकै ठाउँमा जोड्दै धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा योगदान पु¥याएको छ ।

 


Last Updated on: October 14th, 2026 at 8:52 pm
२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑