
के पी भुसाल अजस
नपाएँ कसैको दुखीले सहारा,
गरेँ कष्ट धेरै मिता छन् सितारा ।
अनेकौँ चटारो समालेर झारा,
बिताएँ जवानी दुखारी महारा ।।
गडेको छ काँडा कसोरी हटाऊँ,
जलेको छ छाती कसोरी भिजाऊँ ।
सँगालो छ पीडा र माला बनेको,
भिरेको छु त्येही अरूले उनेको ।।
म खाऊँ म लाऊँ न सोचेँ कुभाव,
रहेकै छ मेरो सबैमा सुभाव ।
न पाएँ सहारा न मिल्छन् सुझाव,
अनाधार दिन्छन् कुकर्मी तनाव ।।
सघाएँ म धेरै अरूको पीडामा,
लगाएर पट्टी दुखेको बेलामा ।
लिए काम जस्ले दुखी भै म बाट,
पराई हुँदै छन् लिँदैछन् तनाव ।।
अटेरी र स्वार्थी भएमा सुधामा,
फसेकै हुनेछन् सडेको हिलोमा ।
अहङ्कार तृष्णा लिएमा कसैले,
धरामा प्रशंसा कहाँ हुन्छ ऐले ।।
बसेको छु आफै बनाएर बास,
खुसीसाथ बाँच्ने जुटेकै छ गास ।
लिने छैन बानी अनायास तृष्णा,
नराख्ने छ बानी कसैमा वितृष्णा ।।
कतै सोच्छु मैले नसा पीर लिन्न,
तथानाम सुन्दा सही साध्य हुन्न ।
बिहानी जवानी सधैँ साथ दिन्न,
हियो भित्र गुन्दा कतै पीर लिन्न ।।
अँधेरो कुनामा उजेला मुहार,
न देख्छन् कसैले सही सत्य सार ।
छ यस्तै चलेको धरा भार लोक,
चलेकै छ संसार यस्तै छ रोग ।।
इति : २०८३ मंसीर २