आइतबार ०९ कार्तिक २०८३

श्याम घिमिरे, कात्तिक ८ अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर–अरिचौर क्रिकेट मैदानमा खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । धनचौर युवा समाजको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको छ ।

प्रतियोगिता आगामी २०८३ साल कात्तिक ११ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक ११ गते बिहानसम्म दर्ता गराउन सक्नेछन् । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता डे–नाइट बल प्रयोग गरी खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक टिममा अतिरिक्त खेलाडीसहित १५ जना खेलाडी रहने व्यवस्था गरिएको छ । टिम दर्ता गर्दा बुझाइएको खेलाडीको नामावली परिवर्तन गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ । खेलाडीको फोटो तथा नेपाली पहिचान खुल्ने आधिकारिक कागजात पेस गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी टिमले खेलाडीको खाना, बसोबास तथा अन्य व्यक्तिगत व्यवस्थापन आफैँ गर्नुपर्नेछ । निर्धारित समयमा खेल मैदानमा उपस्थित हुनुपर्ने र नियम उल्लङ्घन गरेमा आयोजकले आवश्यक कारबाही गर्न सक्ने जनाएको छ ।

प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले सबै टिमलाई प्रतियोगिताका नियम तथा सर्त पालना गर्न आग्रह गरेको छ ।

प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन कैलाश गैरे ९८६३७८७३०७ र दिपेश भट्टराइ ९७४३४३८६१२ मा सम्पर्क गर्न सकिनेछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

स्थानीय क्षेत्रमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । “प्रकृतिसँगै क्रिकेट” भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिताले जिल्लाको खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।


Last Updated on: October 25th, 2026 at 8:47 pm
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑