
५ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ जिल्लाको भूमिकास्थान नगरपालिका–२, भूमिस्थानस्थित ढाकावाङ–सन्धिखर्क सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८, लम्ची स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको हो।
प्रहरीका अनुसार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनापछि घटनास्थलमा पुग्दा मोटरसाइकलमा सवार दुवै जना मृत अवस्थामा फेला परेका थिए। हिजो दशैँको टीका लगाउन ढाकाबाङ ससुरालीतर्फ गएका बाबुछोराको दुर्घटनामा ज्यान गएको हो । रातिसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा आज बिहान सडकबाट तल जंगलमा मोटरसाइकल दुर्घटना भएको र ज्यान गएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीको कमान्डमा १० जनाको प्रहरी टोली खटिएको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।