सोमबार २९ आषाढ २०८३


के पी भुसाल “अजस”
छ ख्याति तिम्रो अति भानुभक्त,
पुकार गर्छौ खुस भै सशक्त ।
स्रष्टा तिमी हौ जनमा महान,
ठूलो छ तिम्रा कृतिको कमान ।।

घुम्दै गरेथ्यौ कवि भानुभक्त,
भेट्यौ छहारी तब एक सख्त ।
आएर घाँसी , परिचित् भएर,
कुरा सुनायो, नजिकै बसेर ।।

घाँसी बतायो जब एक तथ्य,
उत्साह् बढायौ शुभकाम लक्ष ।
बसेर केही कविता जुरायौ,
सारै खुसी भै मनमै रमायौ ।।

महत्व रामायणको बुझेर,
भाषा नेपाली यसमै रमेर ।
सरल् बनायौ अनुवाद गरेर,
पढ्छौं खुसी भै अहिले झुमेर ।।

थियो नि घाँसी चतुरो र नन्दा,
कुवा खनायो अति बेस धन्दा ।
थियो तिमी मै अति नै विवेक
अर्ती सकार्यौ नगरी मजाक ।।

रहेछ रामायण ता महान,
मानिन्छ शाश्वत् यसको कमान ।
तिम्रा अनेकौं रचना पढेर,
आनन्द मान्छौं महिमा बुझेर ।।

आचार्य तिम्रो तन ता छुटेर,
लियौ महाँपन्थ बिदा भएर ।
एकल् हिडेका क्षितिजै तरेर,
सामीप्य पुग्यौ शिवकै भएर ।।

शरीर तिम्रो मनुकै रहेको,
भेट्दैन कोही अबता डुलेको ।
सुकार्य तिम्रा गरिमा छ धेर,
अम्मर भएछौ नभ मै नक्षत्र ।।

घुम्ने छ धर्ती जबसम्म मस्त,
याद् मा हुनेछौ कवि भानुभक्त ।
सम्मान गर्छौ सबले नुगेर,
’आदिकविकोझप्रतिमा पुजेर ।।

प्रकाशन मिति : २०८३ असार २९
के पी भुसाल “अजस”
सन्धिखर्क नगरपालिका वडा नं २
भक्तिटोल अर्घाखाँची


Last Updated on: July 13th, 2026 at 8:07 am
९ पटक हेरिएको

तपाईको प्रतिक्रिया