
काठमाडौं मंसीर ५ । सुन्दर भविष्य र रोजगारीको सपना बोकेर विदेश जाने आशामा भारत पुगेका तीन जना नेपाली नागरिक ४५ दिनसम्म बन्धक बन्नुपरेको पीडाबाट मुक्त भएका छन् । सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इन्डिया सहित सम्बन्धित निकायको संयुक्त पहलमा सकुशल उद्धार गरिएको हो ।
विदेशमा राम्रो रोजगारी पाउने, परिवारको आर्थिक अवस्था सुधार्ने र आफ्ना सपना पूरा गर्ने आशामा घर छाडेका उनीहरूका लागि दिल्लीको बसाइ भने निकै पीडादायी बन्यो । सर्बिया पुर्याइदिने आश्वासन दिएर दिल्ली ल्याइएका उनीहरूलाई करिब ४५ दिनसम्म होटलको कोठामा नियन्त्रणमा राखेर मानसिक यातना दिइएको थियो ।
घटनाबारे जानकारी प्राप्त भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, नयाँ दिल्ली, दिल्ली प्रहरी तथा किन इन्डियाले तत्काल सक्रियता देखाएका थिए । सम्बन्धित निकायबीचको समन्वय र संयुक्त प्रयासपछि तीनै जना नेपाली नागरिकलाई बन्धक अवस्थाबाट सकुशल उद्धार गर्न सफल भएको हो ।
सामाजिक संस्था किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर उनीहरूलाई दिल्ली ल्याइएको थियो । तर रोजगारीको सपना देखाएर ल्याइएका उनीहरू ४५ दिनसम्म होटलको कोठामा बन्धक बन्न बाध्य भए । जोशीले घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारका लागि पहल गरिएको बताए । उनका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई भारतमा ल्याई बन्धक बनाउने तथा शोषण गर्ने घटनाप्रति सबै सचेत हुन आवश्यक छ । विदेश जाने क्रममा रोजगारदाता, म्यानपावर कम्पनी र आवश्यक कागजातको आधिकारिकता जाँच गर्नुपर्ने जोशी बताउँछन् ।
उनले उद्धार गरिएका तीनै जनाको सुरक्षा, संरक्षण तथा स्वदेश फिर्तीका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिँदै पीडितलाई उद्धार गर्नु मात्र नभई उनीहरूलाई सुरक्षित रूपमा घर फर्काउने र सम्मानजनक पुनस्र्थापनामा सहयोग गर्नु पनि संस्थाको प्राथमिकता रहेको बताए । लामो समयसम्म डर, त्रास र मानसिक यातनाबीच बिताएका पीडितहरूका लागि बन्धक अवस्थाबाट मुक्ति मात्र नभई सुरक्षित जीवनतर्फ फर्किने आशाको नयाँ सुरुवात बनेको छ ।
मानव बेचबिखन र वैदेशिक रोजगारीको नाममा हुने ठगीले व्यक्तिको जीवनका साथै परिवारको सपना, भरोसा र भविष्यसमेत प्रभावित बनाउँछ । रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको छ । यस उद्धार अभियानमा मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, नयाँ दिल्ली तथा दिल्ली प्रहरी र सामाजिक संस्था किन इन्डियाको सहकार्य रहेको छ ।