श्याम घिमिरे,
फागुन ४ अर्घाखाँची –
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचा–पत्र सार्वजनिक भएको छ । पार्टीले सोमवार सन्धिखर्कमा पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरि प्रसाद भुसालले जिल्लाको समग्र विकास, सुशासन स्थापना र जनतासँग प्रत्यक्ष जोडिएको उत्तरदायी नेतृत्व आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले विगतमा भएका राजनीतिक अभ्यासका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै अब परिणाममुखी काममार्फत विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भुसालले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सडक तथा पूर्वाधार विस्तार, पारदर्शी प्रशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर योजना कार्यान्वयन गरिनेछ भने युवालाई जिल्लामै अवसर सिर्जना गर्ने वातावरण बनाइनेछ । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला नेताहरूले नयाँ राजनीतिक संस्कार, जवाफदेहिता र जनसहभागितामा आधारित विकास मोडेलमार्फत अर्घाखाँचीलाई समृद्ध बनाउने लक्ष्य लिएको बताएका छन् । उहाँले नागरिकको अपेक्षा अनुसार जवाफदेही नेतृत्व स्थापित गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको दाबी समेत गर्नुभयो ।









