
श्याम घिमिरे, असोज २४, अर्घाखाँची ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने मूल नारासहित अर्घाखाँचीमा ‘स्वर्गीय रमा देवी स्मृति टी–१० खुला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । स्वर्गीय रमा देवीको स्मृतिमा उहाँको परिवारले आयोजना गर्न लागेको प्रतियोगिताबारे शनिबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । आयोजक परिवारका सदस्य राज क्षेत्रीका अनुसार प्रतियोगिता यही असोज २७ गतेदेखि सन्धिखर्कस्थित टुँडिखेलमा सञ्चालन हुनेछ ।
क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा युवामा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरी १६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको सहजीकरण अर्घाखाँची क्रिकेट संघले गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ र उपविजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने सरोज रायमाझीले बताउनुभयो । त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट खेलाडी ‘म्यान अफ द म्याच’लाई दुई हजार एक सय रुपैयाँ पुरस्कार दिइने शोभाखर खत्रीले जानकारी दिनुभयो ।
स्वर्गीय रमा देवीको स्मृतिलाई जीवन्त राख्दै युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै खेलाडीबीच आपसी सद्भाव बढाउन र स्थानीयस्तरमा क्रिकेटप्रति आकर्षण अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
पत्रकार सम्मेलनमा अन्डर–१९ महिला क्रिकेट खेलाडी आयुषा भुसाललाई सम्मानस्वरूप क्रिकेट किट हस्तान्तरण गरिएको हो । महिला क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्ने यस कार्यले जिल्लामा क्रिकेट खेलको विकास र नयाँ प्रतिभालाई अघि बढाउन सकारात्मक सन्देश दिएको छ ।