
श्याम घिमिरे,
असोज २५, अर्घाखाँची ।
अर्घाखाँचीको देउराली यातायात अर्घाखाँची प्रा.लि.ले यात्रुहरूलाई सहज, सुरक्षित र आरामदायी यात्रा सेवा प्रदान गर्ने उद्देश्यसहित सुविधासम्पन्न लक्जरी बस सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले सन्धिखर्क–काठमाडौं, काठमाडौं–सन्धिखर्क तथा भारतको नयाँदिल्लीसम्म यातायात सेवा विस्तार गरेको हो ।
आइतबार सन्धिखर्क नगरपालिका–२ भक्तिटोलमा आयोजित कार्यक्रमबीच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सुविधासम्पन्न बस सेवाको उद्घाटन गर्दै शुभारम्भ गर्नुभएको हो । नयाँ बस सेवामा यात्रुको सुविधालाई ध्यानमा राख्दै एसी, आरामदायी सिट तथा वाइफाइको व्यवस्था गरिएको छ । दिवा तथा रात्रिकालीन बस सेवामार्फत यात्रुहरूलाई सहज र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको देउराली यातायात अर्घाखाँची प्रा.लि.का अध्यक्ष गोबिन्द बन्जाडेले बताउनुभयो ।
बस सेवा उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले जिल्लाको यातायात सेवालाई व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन यस्ता सुविधासम्पन्न सवारीसाधनको सञ्चालन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै यातायात क्षेत्रको विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कम्पनीले हालका लागि सन्धिखर्कबाट काठमाडौं जाने बस अपराह्न ४ः३० बजे र काठमाडौंको बसपार्कबाट सन्धिखर्क आउने बस साँझ ५ बजे छुट्ने समय निर्धारण गरेको छ । सन्धिखर्कदेखि काठमाडौंसम्मको बस भाडा प्रतियात्रु २ हजार ७० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, भारतको नयाँदिल्लीसम्म यातायात सेवा विस्तार गरिएपछि भारततर्फ यात्रा गर्ने यात्रुहरूलाई समेत थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । एसी, आरामदायी सिट र वाइफाइजस्ता सुविधासहितको बस सेवाले यात्रालाई थप सहज र आरामदायी बनाउने विश्वास गरिएको छ ।
जिल्लामा यातायात सेवाको गुणस्तर र पहुँच विस्तार हुँदै जाँदा स्थानीय नागरिक, व्यवसायी तथा अन्य यात्रुहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । आधुनिक सुविधा र यात्रुमैत्री सेवामार्फत देउराली यातायात अर्घाखाँची प्रा.लि.ले यातायात क्षेत्रमा थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।