के पी भुसाल ‘अजस’
रुन्थी विरागी मनले गुनेर,
हाँस्थी विरागी दुख नै भुलेर ।
हेर्थी विरागी डरले लुकेर,
भाल्थे सबैले नखरी भनेर् ।।
मैलो असाध्यै शिरमा कपाल,
डुल्थे जटामा जुमरा हजार ।
घुम्थे तनैमा भुसुना कमाल,
गर्थे कसैले मनले हकार ।।
थी औधि काली अनुहार हेर्दा,
घुर्थी लखौरी खुब सास फेर्दा ।
चल्थ्यौ अचाक्ली हरकै अनौठो,
लाग्थी सबैला मृतको अगुल्टो ।।
गर्थी इसारा शिरले ल आउ,
भन्थी लजाएर म खाँन पाउँ ।
मिल्थ्यौ न कोही मनको सकार,
हिड्थे कसैले गरदै हतार ।।
झाडी घनाका बिचमा हजार,
गर्थे अनेकौं बसमा सवार ।
बस्थी विरागी पथमा रुगेर,
राखेन कोही बसमा सवार ।।
राती उसैमा धमिलो प्रकाश ,
खोज्थी विरागी मनुको समाज ।
हेर्थे ज जस्ले मनुवा उभेर,
भाग्थे सबैले भुत हो भनेर ।।
नारी अकेली दिनरात डुल्दा,
भारी अनौंठो वनमा चहार्दा ।
कोर्दैन काँडा पनि देहलाई,
बाँच्थी विरागी खुब कन्द खाइ ।।
इच्छा कसैका सुख साथ बाँच्ने,
हुन्छन् अनेकौं मन नै बराल्ने ।
पुग्दैन केही मनको कथाइ,
होला विरक्तै मन नै हराइ ।।
लाग्यो डढेलो वनमा अफाप,
पार्यो डढेलो वनता सखाप ।
आगो डढायो वनमा अचाक्ली ,
प्राणी सबैको हुनगो विचल्ली ।।
देखिन्छ औधी वनको डढेलो,
देख्दैन कोही मनको डढेलो ।
आगो जलेको वनमा अधेरो,
मन्मा डढेलो दुनिया अधेरो ।।
वन्को डढेलोत वहार ल्याउछ,
मन्को जलन्ले तनमा जलाउछ ।
आगो वनैको सबको छ चाँसो,
ज्वाला मनैको हुन जान्छ हाँसो ।।
मन्को जलन्ले विरागी बनायो,
मन्कै जलन्ले वनमा बसाल्यो ।
लाग्यो डढेलो वनमा रमाइ,
आँधी उसैमा बिचमा विरागी ।।
प्रकाशन मिति : २०८१ मंसिर ११