
के पी भुसाल ’अजस’
म भुइँमान्छे,छन् काम धेरै,
जति गरेनि छैन मान मेरै ।
जिउ बढेको खाएर खोले,
भएँ म ऐले खै किन झोले ।।

मिठो खाँदा, म हुन्छु पछाडि,
भाटा खाँदा, सधै अगाडि ।
सजाय हुन्छ मनखुशी बोले,
भएँ कसरी? म ऐले झोले ।।
हिड्दा सधै म खटनपटनमा,
हुदैन दाम पनित गोजीमा ।
कृपा अरूकै छ बाँच्नु मैले,
भन्छन् किन हँ,मलाई झोले ।।
सबथोक् काम घरका लुकाई
पीडा हुदा, तर मुख हसाई ।
न जुट्छ घरमा,सहजै खोले,
भएँ दलको, म सच्चा झोले ।।
आशा भरोसा अनेक लिएँ,
समृध्दि घरको, निधो म पाएँ ।
हृदय खोल्दै, अगुवा त बोले,
तब म भएँ, अन्धभक्त झोले ।।
माथि हेर्छु लुछाचुँडी हुन्छन्
अगुवा जन त सबथोक गर्छन् ।
म भुइँ मान्छे विकट घर टोले,
निरीह जीवन रहेछ झोले ।।
फुली र मुन्द्री अनुराग् लिन्छन्
ठुला पद त आफ्नैमा दिन्छन् ।
दिवा सपना म देखें पहिले,
कसरी बाँच्नु झोले म अहिले ।।
जानुछ अबता स्वदेश छाडी,
रहेछ एकल विकल्प खाडी ।
मदत देऊ हेनाथ भोले,
गर्छु पुकार अनाथ, म झोले ।।
प्रकाशन मिति : २०८१ फागुन १२