
के पी भुसाल ‘अजस’
धर्तीले कटुता लिए चरहरू, रम्ने कतै हुन्छर,
आमाको ममता समान दँजनी के नै कहाँ मिल्छर?
प्राणी जो जतिछन् सबै जगतमा,एकै हुँदैनन् तर,
आमाको पटुका मनुष्य जिउने,हो एक उत्तम् भर ।।
बेर्छिन् कम्मरमा सदैव पटुकी, माता महाँज्ञानमा,
नेपाली जननी कसेर पटुका,हुन्छिन् गृहस्थी नमा ।
भारी बोक्न परे छ आड पटुका, भोकै भएमा अनि,
पीडाका पसिना पुछेर यसले,हाँसेर बोल्छिन् पनि ।।
ढाक्छिन् लाज हुँदा सपक्क पटुका,छाती बिचैमा अति,
राख्छिन् फुट्कर दाम पनिता टुप्पो यसैका कँसी ।
हेर्छन् ती बबुरा फुकाइ पटुका, छोरा र छोरीहरू,
भेट्छन् प्रायजसो खुराक रसिला,बाँडेर खान्छन् बरू ।।
लान्छिन् है शिरमा लजाइ पटुका,सम्मानकै खातिर,
नाम्लो हुन्छ यही कुनै समयमा, आमा सधैँ सुन्दर ।
आमाको पटुका हुँदैन गजिलो, देखिन्छ सानै तर,
यस्को गौरवमा अनादरभए , सायुज्य मिल्ने छर ।।
आमाको पटुका समाज बिचमा, बर्धान ठूलो छनी,
यस्कै हुर्मतमा सधैँ जनहरू , हुर्केर बढ्छन् पनि ।
बाँध्छिन् यै जननी अथा जतनले,फाट्दै गरेमा अनि ।
आमाको पटुकी सदा अजरको,केगर्नु बर्णन् पनि ।।
प्रकाशन मिति : २०८३ बैशाख २८