
वैशाख १८ । आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । श्रमिकहरूको योगदानको सम्मान, श्रम अधिकारको संरक्षण तथा पेशागत मर्यादाको सुनिश्चितताका लागि हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने परम्परा रहिआएको छ ।
विश्वभरका श्रमिकहरूले श्रमिक दिवसलाई आफ्नो अधिकार, सुविधा र सुरक्षित कार्य वातावरणको माग उठाउने अवसरका रूपमा लिने गरेका छन् । श्रमिक आन्दोलनको इतिहासलाई सम्झँदै विभिन्न देशमा र्याली, सभा, अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरिन्छ ।
सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा “आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन” भन्ने नारासहित श्रमिक आन्दोलन सुरु भएको थियो । त्यही ऐतिहासिक आन्दोलनको सम्झनामा विश्वभर मे दिवस मनाउने गरिन्छ ।
नेपालमा भने २००७ सालमा विराटनगरबाट सुरु भएको मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो । २०४६ सालपछि यस दिनलाई औपचारिक रूपमा सार्वजनिक बिदाका रूपमा मान्यता दिइएको थियो । यस वर्ष पनि सरकारले श्रमिक दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।