बुधबार ०६ साउन २०८३

के पी भुसाल ‘अजस’
हात्मा फूल थियो खुसीमन थियो साम्ने अरूचिज् पनि,
विद्या आर्जनमा सिकाइ पहिलो, आरम्भको दिन् भनि,
कोर्थें मै पनिता झिजो कलमले, आधार् अरूकै छदो,
लेख्ने कागजता धुलो सहितको, काठे धुलौटो थियो,

खेल्थें आँगनको हिलो वदनमा , घस्दै र हाँस्दै अनि,
जुट्थे बालसखाअरू खुसहुदा, खेल्ने र रम्ने भनि,
केही पीर थिएन बाल म छदा, देख्थें सबै उज्जल,
जिज्ञासा मनमा अनेक बढदा, हुन्थें सदा चञ्चल,

पाठशाला पढने उमेर भनदै, भर्ना भयें मै अनि,
सिल् पाटी चकटी लिएर सङमा, जान्थें म पढ्नै पनि,
कोर्थे अक्षरता निकै सकसले, छोप्दै खरी हातमा,
डर्थें सिस्नु मुठा अघोर गुरुका, देख्दा सधै साथमा,

मेरा बाल् अधिकार पालन भए, केही म सानो छदै,
थाले घट्न म ता बढेर पढने, जिम्मा बढेथ्यो तसै,
शिक्षा आर्जनकै सिकाइ तरिका,घोकन्ति विद्या छदो,
जत्ति ज्ञान लिएनि पाठ पढदै, श्रेणी विहिन् पो भयो,

जाडो मौसममा खुबै सबजना, तापेर आगो अनि,
सुन्थ्यौं धेर पुराणका गहकिला, सोलोक शास्त्रै पनि,
सुन्थें धेर कथा पुराण पनिता, सानो म बालक् छदा,
माटोको घरमा बसेर रमदा, लाग्थ्यो अनौठो मजा,

घोक्थें मै पनिता कुनै समयमा, चण्डी र केही अरू,
मान्थें ज्ञान दिने सहोदर उनै , बाजे पिताजी गुरु,
यस्तै चाल चलेर बालक छदा, जाने बुझेका कुरा,
मेरो जीवनका सखा अजरती, आधार मान्छु पुरा ।।

प्रकाशन मिति :२०८० असार १


Last Updated on: August 24th, 2024 at 4:32 am
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया