शुक्रबार १९ भाद्र २०८३

भदौ १९, २०८३ – रसुवाको भोटेकोशी नदीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् ।

उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा राखी आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको प्राधिकरणले जनाएको छ । साथै, सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित सबै निकाय परिचालन गरिएको छ ।

यसैबीच, रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी हालसम्म एक हजार २५९ शव फेला परेको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी बाढीबाट प्रभावितमध्ये पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरणसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणको भनाइ छ ।

विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतका कामलाई थप प्रभावकारी र तीव्र बनाइएको सरकारले जनाएको छ ।


Last Updated on: September 4th, 2026 at 9:29 am
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया