शुक्रबार २६ भाद्र २०८३

                  के पी भुसाल अजस
गर्छौ भोज खुसी मनाउन भने, के पर्व चाहिन्छर ?
गर्छौ मोज भने यसै जगतमा,कस्ले कहाँ छेक्छर ?
तिम्रा सोख नसा अनेक खुसमा,बोल्दैन कोही तर,
गर्छौ वैदिकको अनादर भने, के शान बढ्ने छ र ? ।।

घुम्दै आउँछ तीज,वर्ष दिनमा हो एक दिन्को खुसी,
यस्को नाम लिँदै कतै कुलतका मिल्छन् अनेकौँ दसी ।
यस्तै चाल रहे सुधार नभए , होलान् खुसी क्वै तर,
नेपाली जनको गरेर मनितो, संसार गन्ने छ र ? ।।

नेपाली जनहौँ भुलेर पुरुखा, जाने कहाँ हो भन ?
तीज्को नाम लिँदै अमान्य रसले झज्जी छ बढ्दै किन ?
खाने हो दर एकछाक खुसले, खाना मिठा नै तर,
माछा मासु अखाद्य तामस हुँने,खाने कहीँ भन्छ र ?।।

नारीहुन् धरती समान नरमा,व्याख्या कसोरी गरुँ,
नारी कै अगुवाइका कुलतको,पीडा कसोरी कहुँ ।
लक्ष्मी हुन् जनना उदार दिलकी,माया दिने सागर,
यस्ता सागरमा तरङ्ग कलिको,बग्दैछ है होस् गर ।।

भुल्दै छन् महिमा झनै दिनदिनै, नारी हरू तीजमा,
खान्छन् तीज भनेर मासु मदिरा , मातेर होटेलमा ।
आधा नग्न बनाइ शरीर पनिता,नाँच्छन् खुसी भै तर,
यस्तो बेथिति नै सुधार नभए, के तीज जोगिन्छर ? ।।

नाँच्छन् तीज भनेर नाँच सनकी हेर्नै नसक्ने अनि
गाए गीत भने अपाच्य कचरा ,सुन्ने कसोरी पनि ।
छाडा हर्कतमा कतैत महिला,रम्लान् खुसी भै तर,
यस्ता खेल सनातनी जनहरू कस्ले बुता दिन्छ र ?

मान्छौँ तीज भने बँचाइ महिमा, बन्ने गरौँ सादक,
यस्को मर्म बुझेर आदर गरौँ, हुन्छौँ सबै रक्षक ।
उत्ताउ्लो पनले मुहार हँसिलो, गर्छन् कसैले तर,
झुक्छन् ती जनता हुनेछ पछुतो,कस्ले बुता दिन्छर ।।

प्रकाशन मिति : २०८३ भदौ २६


Last Updated on: September 11th, 2026 at 8:30 pm
६ पटक हेरिएको

तपाईको प्रतिक्रिया