
श्याम घिमिरे, भदौ १७, अर्घाखाँची ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना प्रकट गर्दै अर्घाखाँची बैंकर्स क्लबले सन्धिखर्कको शान्ति बगैँचामा दीप प्रज्ज्वलन गरेको छ ।
प्राकृतिक विपत्तिका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै क्लबले विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । बेपत्ता भएका व्यक्तिहरूको सकुशल खोजी, उद्धार तथा परिवारसँग शीघ्र पुनर्मिलनको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको अर्घाखाँची बैंकर्स क्लबले जनाएको छ ।
कार्यक्रममा “दुःखमा साथ दिनु, पीडामा सहारा बन्नु र विपत्तिमा एकजुट हुनु नै मानवीयताको सच्चा परिचय हो” भन्ने भावनासहित दीप प्रज्ज्वलन गरिएको ग्लोबल आइएमई बैंक अर्घाखाँची शाखाका प्रमुख प्रल्हाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत विपत्तिमा परेकाहरूप्रति ऐक्यबद्धता र मानवीय सहानुभूति प्रकट गरिएको हो ।
