शुक्रबार ०८ साउन २०८३

के पी भुसाल ‘अजस’ 
तर्दै थें सहजै भनु म कसरी, ठूला निला सागर,
हेर्थें मै पनिता ससानु चरमा, दिन्थे यथा उज्जर,
सारै माथि थियो विमान नभमा,उड्दै गरेको अनि,
यात्री धेर थिए सवार जसमा, एउ्टा थियें मै पनि,

मान्छे रूप समानका तर थियौँ,नानाथरी रङ्गका,
यात्री शान्त थियौं सबै सफरमा, धेरैथरी भेषका,
जो जो लक्ष थिए अनेक मनमा,सोच्दै गरेका अनि,
सारै मेल थियो हरेक जनमा, त्येस्तै थियेँ मैं पनि,

भुल्थे क्वै जनता मिठा र मसिना,आफ्नै कुरा भेषमा,
झुम्थे क्वैमनु मद्यपान रसले,मुस्कान् थियो ओठमा,
खान्थे सब् जनले सुपाच्य खजना,होलान् हितैषी भनि,
गर्थे आदर सबै खुसी हृदयले, राजी थियें मै पनि,

देखिन्थे जलधी अघोर महती,के गर्नु अड्कल् अनि,
ठूला छाल अझै समीर भरिला, केगर्नु ब्याख्या पनि,
काला मेघ र बायुयान बिचको,सामिप्य देख्दा अनि,
सारै हर्षित यात्रु थे सबजना, भर्थें खुसी मै पनि,

खोज्छन् धेर समृद्धि जनहरू, संसारका नै खुबै,
रोज्छन् धेर अमेरिका रहरको, हो देश भन्दै अझै,
यात्रा सान थियो विमान जसमा, यात्री अनेकौ अनि,
टेक्नासाथ अ मेरिका खुस भए, हर्षित् थिएँ मै पनि,

मान्छेको भिडले टनाटन थियो, सारा विमानस्थल ,
भेट्दै आतुरमा कुनै जनहरू, हुन्थे कतै विह्वल ,
भेट्दा बन्धुहरू विभोर हुनगै, प्रेमाश्रु झार्थे अनि,
गर्थे स्वागत बन्धु बान्धवहरू, यस्तै थियेँ मै पनि,

घुम्ने सोंच अमेरिका अति थियो, पाए कतै औसर,
पाएँ जे जसरी सहर्ष मन भै , आएँ लिदै औसर,
डुल्छन् कैयन सानको अडिगमा हुन्छन् खुसीमा अनि,
बुझ्छन् जे जसरी समृद्ध थल यो, उस्तै बुझें मै पनि,

आएँ सात समुद्र पार गरदै, छाडेर जन्मस्थल,
धर्तीको अनमोल पुण्य थलहो ,नेपाल मेरो घर,
मायाँ औधि छ जन्म भूमि जसको जोगाइहिड्छु सदा,
नेपाली पनता छ भित्र मनमा, भुल्दैन मैले कदा ।।

प्रकाशन मिति :२०८० कार्तिक १६


Last Updated on: November 2nd, 2023 at 2:00 am
५४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया