सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
असार ३ शितगंगा

अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकामा खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोपहरु पाएको प्रमाणिकरण भए पश्चात् मंगलवार शितगंगाको ठाडामा आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख एवं जिल्ला खोप समन्वय समितीका अध्यक्ष जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा वडा तथा नगरपालीकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालका अनुसार नगरपालिका भित्रका १६ महिनादेखि २३ महिना सम्मका चार सय ४१ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएको र यो उमेर समुहका कोही बालबालीहरु खोपबाट बन्चीत नभएकोले नगरपालीकालाइ पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम गरीएको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै समन्वय प्रमुख कोइरालाले समृद्ध शितगंगा निर्माणका लागि सबैभन्दा महत्वपूर्ण कुरा नगरवासीहरु स्वस्थ हुनुपर्ने बताउनुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उहाँको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सबैको भुमिका अपरिहार्य रहने भन्दै कोइरालाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्याउने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह,जनप्रतिनिधि लगायतको मेहनतको प्रशंसा समेत गर्नुभयो ।

नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणालाइ सफल पार्न अहोरात्र खटने सबैलाइ प्रशंसा सहित धन्यबाद ज्ञापन गर्नुभयो ।

उप–प्रमुख गिता भाटले स्वास्थ्य विकासको मेरुदण्ड भएकोले यसको कार्यान्वयनमा सबैले ध्यानदिनु बताउनुभयो । खोप सुनिश्चितता दिगोपना र निरन्तरताको लागि अझै मेहनत गर्नुपर्ने बताउदै भाटले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव कृष्णप्रसाद पोख्रेलले खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको बताउनु भयो । पोख्रेलले २/४ दिन भित्रैमा जिल्लालाइपनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको भन्दै महत्वपूर्ण कार्यमा अहोरात्र खट्ने सबैप्रति आभार सहित धन्यबाद व्यक्त गर्नुभयो ।

नगर प्रमुख एवं नगर खोप समन्वय समितिका अध्यक्ष छबिलाला पौडेलको अध्यक्षता र स्वास्थ्य शाखाका लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर जिसी,वडानम्वर ४ का वडाध्यक्ष दामोदर अधिकारी,वडानम्वर ७ का वडाध्यक्ष देविराम घिमिरे,जिल्ला खोप समन्वय समिति सदस्य उमा बन्जाडेलगायतले शुभकामन मनतब्य राख्दै कार्यक्रमलाइ दिगोपना दिलाउन आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

घोषणा कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका, पत्रकार लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थालाइलाई सम्मान समेत गरिएको थियो । पूर्ण खोप सुनिश्चिततालाइ निरन्तरता कायम राख्न कार्यक्रममा उपस्थित सबैले प्रतिवद्वता–पत्रमा हस्ताक्षर समेत गरेका थिए ।


Last Updated on: June 18th, 2025 at 8:54 am
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया