शुक्रबार १८ बैशाख २०८३

श्याम घिमिरे
असार २२ अर्घाखाँची—
एबोड इन्डिया लिमिटेडको आयोजना तथा ग्यास्ट्रो सेन्टर बुटवलको प्राविधिक सहयोगमा सन्धिखर्कमा आयोजित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम (सिएमई) शनिबार सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसालले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो । डा. भुसालले पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजमा देखिने विभिन्न जटिल तथा साधारण रोगहरूको पहिचान, निदान र उपचारका विधिहरूबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उहाँले अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अर्घाखाँची अस्पतालका मे.सु डा.जगन्नाथ तिवारीले यस्ताखाले कार्यक्रमहरूले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा ठुलो योगदान पु¥याउने बताउनुभयो । समय सापेक्ष ज्ञान अद्यावधिक गर्नु स्वास्थ्य सेवा क्षेत्रको गुणस्तर वृद्धिकालागि अत्यावश्यक भएको भन्दै डा.तिवारीले पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज जस्ता संवेदनशील अंग सम्बन्धी समस्याको समयमै पहिचान र उपचारका लागि सीएमई कार्यक्रमहरू अत्यन्तै प्रभावकारी हुनेमा जोड दिनुभयो ।

कार्यक्रमले ग्रामीण भेगमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यस्ता रोगहरूको पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका छन । एबोड इन्डियाका प्रतिनिधिले सहजिकरण गरेको कार्यक्रम राम प्रसाद अर्यालको सञ्चालन र युवराज थापामगरको व्यवस्थापकिय सहयोगमा सम्पन्न भएको हो ।    


Last Updated on: July 6th, 2025 at 3:58 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया