शुक्रबार ०५ आषाढ २०८३

श्याम घिमिरे, पुस २८ अर्घाखाँची –

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सोमवार सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्रको मूल आधार समावेशिता, निष्पक्षता र तथ्यमा आधारित पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा दलित पत्रकारहरूको भूमिका, चुनौती र भावी कार्यदिशाबारे गहन अन्तरसंवाद गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारितामा समान पहुँच तथा व्यावसायिक स्वतन्त्रताको सुनिश्चिततामा राज्य र स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र सुदृढ बनाउन समावेशी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दलित समुदायबाट आएका पत्रकारहरूले समाजका आवाजलाई निष्पक्ष र निर्भीक रूपमा उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पत्रकारिता पेशा जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले दिएको प्रेस स्वतन्त्रताको प्रयोग जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै दलित पत्रकारहरूले भोग्दै आएका संरचनागत चुनौती समाधानका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रिय सदस्य राधा नेपाली, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ठाकुर कुमार बिक,संयुक्त दलित अधिकारकर्मी विष्णु परियार,पत्रकार गणेश खनाल,शोभाखर पन्थी,प्रेमनारायण आचार्यलगायतले मनतब्य राख्दै दलित पत्रकारहरूको हक–अधिकार, पेशागत सुरक्षा, सीप विकास तथा नेतृत्व तहमा पहुँच विस्तारका विषयमा सुझाव प्रस्तुत गरेका थिए । बक्ताहरुले तथ्यमा आधारित, समावेशी र उत्तरदायी पत्रकारिताले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने निष्कर्ष निकालेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता र बिक्रम नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका सञ्चारकर्मीहरुलाइ सम्मान समेत गरिएको थियो ।


Last Updated on: January 12th, 2026 at 7:36 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया