शुक्रबार १५ जेठ २०८३

श्याम घिमिरे
अर्घाखाँची, माघ २३ —
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नियमित खोप कार्यक्रम अन्तर्गत विद्यालय केन्द्रित एच.पि.भी. (ज्एख्) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सन्धिखर्क नगरपालिकामा नगर खोप समन्वय समिति तथा सरोकारवालाहरूलाई लक्षित गरी अभिमुखीकरण तथा छलफल कार्यक्रम सुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा एच.पि.भी. खोपको महत्व, लक्षित समूह, खोप सञ्चालन प्रक्रिया, कार्ययोजना तथा सम्भावित चुनौतीबारे विस्तृत रूपमा छलफल गरिएको थियो । विद्यालय तहमा अध्ययनरत किशोरीहरूलाई खोपको पहुँच सुनिश्चित गर्न स्थानीय तह, विद्यालय प्रशासन, स्वास्थ्यकर्मी र सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले एच.पि.भी. खोप पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट बच्न अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका स्वास्थ्यकर्मी, विद्यालय प्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधि सहित सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

जनस्वास्थ्य निरीक्षक प्रकाश परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले अभियानको उद्देश्य, कार्यविधि र कार्यतालिका प्रस्तुत गर्नुभएको थियो । शाखा प्रमुख पराजुलीका अनुसार नगरभित्र माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने खोप अभियानमा झण्डै ३९७ जना किशोरीलाई एच.पि.भी. खोप लगाइनेछ ।

उहाँका अनुसार कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष पूरा गरेका बालिकाहरूलाई नियमित खोप दिइनेछ भने अघिल्लो वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप लगाइनेछ । विद्यालय जाने बालिकाहरूलाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालय नजाने किशोरीहरूले नजिकको स्वास्थ्य संस्थाबाट खोप प्राप्त गर्ने व्यवस्था गरिएको छ ।


Last Updated on: February 6th, 2026 at 8:47 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया