श्याम घिमिरे फागुन १३ अर्घाखाँची ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा पत्रकार तथा सुरक्षा निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान स्थल तथा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, संवेदनशील क्षेत्रको पहिचान,शान्ति सुरक्षा, निर्वाचनमा सञ्चार माध्यमको भूमिका लगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।
छलफलमा सुरक्षा निकायका प्रमुखहरू, संचारकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न गराउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

पत्रकारहरूले पनि सूचना प्रवाहमा सत्यतथ्य र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए भने सुरक्षा निकायले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने जानकारी गराएका थिए । निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा आवश्यक शान्ति सुरक्षा लगायतकको तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिनुभयो ।








