Trend

श्याम घिमिरे,
बैशाख ७ अर्घाखाँची –

अर्घाखाँचीको सन्धिखर्क–२, भक्तिटोलस्थित पवित्र धार्मिक स्थल श्री सिद्धेश्वर शिवालय मन्दिरमा श्रद्धा, भक्ति र उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम तथा आमभेला भव्य रूपमा सम्पन्न भएको छ । हिन्दु धर्ममा विशेष महत्व राख्ने अक्षय तृतीयाको शुभ अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण क्षेत्र नै आध्यात्मिक ऊर्जा र भक्तिमय वातावरणले भरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्तव्य राख्दै मन्दिरले दैनिक खर्च व्यवस्थापन गर्दै ५० लाखभन्दा बढी आम्दानी गर्न सफल भएकोमा सञ्चालक समिति र व्यवस्थापन टोलीको खुलेर प्रशंसा गर्नुभयो । उहाँले शिवालयलाई आजको अवस्थामा पु¥याउन धर्मप्रेमी तथा समाजसेवी नारायण प्रसाद खनालको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सबैलाई तन, मन र धनले सहयोग गर्न आह्वान गर्नुभयो ।

श्रेष्ठले आश्रम, मन्दिर, गुरुकुल र गौशालाको दीर्घकालीन सञ्चालनका लागि “अक्षय कोष” स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै धार्मिक पर्यटन प्रवद्र्धनका लागि सुपा देउराली आउने भक्तजनलाई सिद्धेश्वर हुँदै अर्घा भगवतीसम्म जोड्ने धार्मिक मार्ग विकासमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । साथै नगरपालिकाबाट आवश्यक सहयोगका लागि प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसाल लगायतले मन्तव्य राख्दै शिवालयको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वमाथि प्रकाश पार्नुभयो । शिवालय सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद खनालले मन्दिरको वर्तमान अवस्था, आगामी योजना तथा समग्र व्यवस्थापनबारे जानकारी गराउनुभयो ।

जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्राबेसी–भक्तिटोलमा अवस्थित यस शिवालयमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शिवलिङ्ग स्थापना गरिएको छ, जसले यस क्षेत्रलाई धार्मिक दृष्टिले अझ विशिष्ट बनाएको छ । मन्दिरको महत्त्व उजागर गर्दै धार्मिक, पौराणिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनका लागि आगामी दिनमा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सचिव कृष्णप्रसाद भुसालले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२ को असार मसान्तसम्म अक्षय कोषमा ४० लाख रुपैयाँ तथा अन्य स्रोतबाट ११ लाख रुपैयाँ गरी कुल ५१ लाखभन्दा बढी आम्दानी भएको जानकारी दिनुभयो । उहाँले श्रद्धालु, दातृवर्ग तथा स्थानीयवासीको निरन्तर सहयोग र विश्वासकै कारण मन्दिरको आर्थिक अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्नुभयो ।

सह–सचिव नेत्र प्रसाद भुसालको स्वागत मन्तव्य र पाणिनी वेद विद्याश्रमका प्रअ भेषराज चुँदालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वटुकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ आध्यात्मिक बनाएको थियो । कक्षा १० सम्म संस्कृत विषयको अध्ययन हुँदै आएको पाणिनी वेद विद्याश्रममा हाल ४० जना भन्दा बढी बटुकहरू अध्ययनरत रहेको जानकारी प्रअ चुँदालीले दिनुभयो । उहाँका अनुसार विद्याश्रमले वैदिक शिक्षा र संस्कारयुक्त जीवनशैलीको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

त्यसैगरी, विद्यार्थीहरूसहित बिहान–साँझ गरी दैनिक करिब ८५ जनाले भोजन गर्ने व्यवस्था रहेको मन्दिरका पुजारी सुमन्त पोख्रेलले जानकारी दिनुभयो । शिवालयमा दैनिक बिहान र साँझ नित्यकर्म सञ्चालन हुने तथा प्रत्येक सोमबार साँझ विशेष सन्ध्याकालीन महाआरती हुने गरिएको उहाँले बताउनुभयो ।

भक्तजनको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा मन्दिरप्रति श्रद्धा, आस्था र संरक्षणको भावना अझ प्रगाढ बनेको अनुभूति गरिएको छ । आयोजकले सम्पूर्ण धर्मप्रेमीहरूलाई यस पवित्र अभियानमा साथ दिन आग्रह गर्दै शिवालयलाई राष्ट्रिय स्तरको धार्मिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

यसैबीच, निकट भविष्यमा गठन हुन गइरहेको सिद्धेश्वर शिवालय सञ्चालक समितिमा समावेश हुन इच्छुक तथा आस्थावान व्यक्तिहरूलाई अध्यक्ष खनालले सहभागिताका लागि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP