बिहिबार ०४ आषाढ २०८३

श्याम घिमिरे, अर्घाखाँची, असार २  — अर्घाखाँची जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वय तथा जिल्ला खोप समन्वय समितिको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

“स्थानीय स्वामित्व र सहभागिता, अर्घाखाँचीको प्रतिबद्धता– हरेक वर्ष पूर्ण खोपको सुनिश्चितता” भन्ने मूल नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लामा १५ महिनासम्मका २ हजार ४ सय ८९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । त्यसैगरी १६ महिनादेखि ५९ महिनासम्मका ७ हजार १ सय ६४ जना बालबालिकाले पनि पूर्ण खोप प्राप्त गरेको तथ्याङ्क रहेको छ ।

जिल्लामा हाल १ जिल्ला अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ३९ स्वास्थ्य चौकी, १९ आधारभूत स्वास्थ्य केन्द्र, ११ सामुदायिक स्वास्थ्य इकाइ, २३ सहरी स्वास्थ्य केन्द्र, १८२ खोप केन्द्र, ७६ गाउँघर क्लिनिक तथा ८५० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका परिचालित रहेका छन्। साथै जिल्लाका तीन स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेका छन् ।

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत हाल १४ रोगविरुद्ध १४ प्रकारका खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । विश्वबाट बिफर रोग उन्मूलन भएपछि वि.सं. २०३४ सालदेखि सञ्चालनमा आएको राष्ट्रिय खोप कार्यक्रममार्फत देशभरका करिब १६ हजार खोप केन्द्रबाट बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिँदै आएको छ ।

स्थानीय तह तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता, नियमित खोप सेवाको सुदृढीकरण र स्थानीय स्रोत–साधनको अधिकतम परिचालनमार्फत सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार खोप सुनिश्चित गर्ने लक्ष्य कार्यक्रमले लिएको छ । खोप मार्फत बिभिन्न रोगहरुबाट बचाउन सकिने, अपाङ्गता तथा बाल मृत्युदरमा उल्लेखनीय कमी ल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउँदै लैजान सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश खोप संयोजक कुमार थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, स्वास्थ्य मन्त्रालयका निर्देशक रोशनलाल चौधरी, राजनीतिक दलका तर्फबाट नेकपाका केन्द्रीय सदस्य रामबहादुर चौहान, सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल तथा महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट उमा बन्जाडेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाको अध्यक्षता, स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलको स्वागत मनतब्य र गणेशराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अभियानलाई सफल बनाउन विभिन्न माध्यमबाट महत्वपूर्ण योगदान पु¥याउने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाहरूलाई सम्मान गरिएको थियो ।


Last Updated on: June 17th, 2026 at 7:32 am
१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया