
श्याम घिमिरे,
असार २८, अर्घाखाँची –
अर्घाखाँचीको मालारानी गाउँपालिका–९, गोखुङ्गास्थित श्री सूर्य माध्यमिक विद्यालयको आयोजनामा आगामी कार्तिक १२ देखि १९ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक प्रविण पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचकका रूपमा सहभागी भई श्रीमद्भागवत कथा तथा धार्मिक प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुहुने आयोजकले जनाएको छ ।
स्मार्ट तथा प्रविधिमैत्री विद्यालय निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको पूर्वाधार विकासका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक डुकप्रसाद पौडेलले बताउनुभयो ।
महायज्ञ अवधिभर दैनिक पूजा–आराधना, श्रीमद्भागवत कथा वाचन, भजन–कीर्तन, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने ९ नम्बर वडाध्यक्ष महेन्द्रबाबु खनालले जानकारी दिनुभयो ।
यसैबीच, महायज्ञलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न शनिबार श्री सूर्य माध्यमिक विद्यालयमा आयोजित वृहत् भेलाले पदम क्षेत्रीको संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । समितिले महायज्ञको तयारीलाई तीव्र बनाउने निर्णयसमेत गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन, अभिभावक, शुभेच्छुक, दानदाता तथा स्थानीयवासीलाई महायज्ञमा सहभागी भई धार्मिक पुण्यलाभ लिनुका साथै विद्यालयको शैक्षिक विकास अभियानमा साथ दिन हार्दिक अनुरोध गरेको छ ।
भेला बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गिरी प्रसाद पौडेलको अध्यक्षता,वडाध्यक्ष महेन्द्रबाबु खनालको प्रमुख आतिथ्यता र शिक्षक कासीनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
महायज्ञ लगाउनुको मुख्य उद्देश्य
– स्मार्ट तथा प्रविधिमैत्री विद्यालय निर्माण ।
– शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको पूर्वाधार विकासका लागि आवश्यक स्रोत जुटाउने ।
महायज्ञ व्यवस्थापन,समन्वय तथा सञ्चालन
महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक पण्डित दिनबन्धु पोखरेलको टोलीसँगै ‘१०१ प्राविधिक शिक्षालय अभियान’का संकल्पकर्ता चन्द्रप्रसाद वसेल (ध्रुव शरण) को पूर्ण व्यवस्थापन तथा समन्वयमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
को हुन् चन्द्रप्रसाद वसेल (ध्रुव शरण)
चन्द्रप्रसाद वसेल (ध्रुव शरण) नेपालमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘१०१ प्राविधिक शिक्षालय अभियान’का संकल्पकर्ता हुन् । शिक्षा नै समृद्धि र आत्मनिर्भरताको आधार हो भन्ने विश्वासका साथ उहाँले देशका विभिन्न स्थानमा प्राविधिक शिक्षालय स्थापना गर्ने अभियानलाई निरन्तर अघि बढाइरहनुभएको छ ।
यस अभियानअन्तर्गत हालसम्म १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन भई करिब १,४०० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन् । अभियानमार्फत कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, बाली विज्ञान, सूचना प्रविधि (आईटी), अटोमोबाइल इन्जिनियरिङ तथा बीआईसीटीई (BICTE) लगायतका रोजगारमुखी प्राविधिक विषयहरू सञ्चालन हुँदै आएका छन् ।
गुणस्तरीय प्राविधिक शिक्षा गाउँ–गाउँसम्म पु¥याई युवालाई दक्ष, आत्मनिर्भर र रोजगारीमुखी बनाउने उहाँको अभियान आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । शिक्षा, सीप र अवसरलाई एकै ठाउँमा जोड्ने यस अभियानले नेपालमा प्राविधिक शिक्षाको नयाँ सम्भावना सिर्जना गर्दै भविष्यका सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । महायज्ञबाट झण्डै तिन करोड रुपैया संकलनहुने आयोजकको अनुमान रहेको छ ।
बिभिन्न उपसमिति गठन
महायज्ञलाई भव्य, सभ्य, व्यवस्थित तथा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक विभिन्न उपसमितिहरू गठन गरिने मूल समारोह समितिले जनाएको छ । समितिका अनुसार महायज्ञको प्रभावकारी व्यवस्थापन, समन्वय तथा सञ्चालनका लागि विषयगत जिम्मेवारीअनुसार उपसमितिहरू गठन गरिनेछ ।