
श्याम घिमिरे, भदौ २७ अर्घाखाँची ।
धार्मिक व्यक्तित्व नारायणप्रसाद खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । खनाललाई एक कार्यक्रमका बीच राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले खादामाला लगाएर पार्टीमा स्वागत गर्दै प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेशपछि खनालले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, हिन्दू धर्मको संरक्षण तथा रक्षा गर्ने र नेपाली जनतालाई आत्मनिर्भर बनाउने विषयलाई मुख्य एजेण्डाका रूपमा अघि बढाउने सहमतिसहित राप्रपामा प्रवेश गरेको बताउनुभयो ।
खनालले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । त्यसपछि उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनुभएको थियो । रास्वपाको सदस्यता लिए पनि पार्टीगत गतिविधिमा भने आफू सक्रिय नभई निष्क्रिय रहेको खनालले बताउनुभयो ।
राप्रपामा प्रवेशसँगै खनालले देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आफ्नो भूमिका सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।