
श्याम घिमिरे, असोज १ अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय, अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । पहिलो चरणमा लुम्बिनी प्रदेशभित्र सञ्चालन हुने सवारी साधनका लागि अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा प्रदान गर्न थालिएको हो । 
सेवाको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो दुई जना सेवाग्राहीलाई अस्थायी बाटो इजाजतपत्र प्रदान गर्नुभएको थियो । हाललाई अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा लुम्बिनी प्रदेशभित्र मात्र लागू हुने भएकाले सम्बन्धित सरोकारवाला तथा सेवाग्राहीलाई सोहीअनुसार सेवा लिन कार्यालयले अनुरोध गरेको छ ।
प्रदेश सरकारले दिएको कार्यादेशअनुसार आम नागरिकलाई सहज, सरल र छरितो ढङ्गबाट सेवा उपलब्ध गराउने प्रतिबद्धता घरेलु तथा साना उद्योग कार्यालय, अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले व्यक्त गर्नुभएको छ । अर्घाखाँचीबाटै पटके सेवा सुरु भएपछि अस्थायी बाटो इजाजतपत्र लिन अन्यत्र धाउनुपर्ने सेवाग्राहीको झन्झट कम हुने अपेक्षा गरिएको छ ।
