
श्याम घिमिरे, असोज २, अर्घाखाँची ।
राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा अर्घाखाँचीमा माध्यमिक तह (कक्षा ९–१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता तथा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले समयअनुसार शिक्षण सिकाइका पद्धति परिवर्तन गर्दै विद्यार्थीको क्षमता, सिर्जनशीलता र व्यवहारिक ज्ञान विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले गुणस्तरीय शिक्षा नै सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक निर्माणको आधार भएको बताउनुभयो । उहाँले शिक्षालाई केवल परीक्षामा राम्रो अंक ल्याउने विषयका रूपमा नभई जीवनोपयोगी ज्ञान, सीप र संस्कारसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विष्णुप्रसाद बेल्वासेको अध्यक्षता तथा प्राविधिक सहायक रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभावक रविन्द्र खड्का, शिक्षक नामबहादुर रानाभाट, शिवलाल पोख्रेल, पवित्रा भट्टराई तथा पत्रकार रुद्रमणि भुसाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैबीच, राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘जलवायु परिवर्तन, वर्तमान विपद् र नेपालको भविष्य’ विषयक माध्यमिक तह (कक्षा ९–१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा सार्वजनिक माध्यमिक विद्यालय छत्रदेवकी मनिका रायमाझी प्रथम, शान्ति माध्यमिक विद्यालय बाँगीका विद्धान चौहान द्वितीय, अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्ककी शिक्षा केसी तृतीय र ज्ञानप्रकाश माध्यमिक विद्यालय डिभर्नाका सहज चुँदालीले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगितामा जिल्लाका ६ वटै स्थानीय तहबाट १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यस्तै, एसईई–२०८२ मा शतप्रतिशत नतिजा ल्याउने जिल्लाका विभिन्न विद्यालयलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने विद्यालयमा हिमालय इङ्गलिस बोर्डिङ स्कुल, छत्रदेव –४ बल्कोट, मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क, अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क–२ बेलवाटिका, पाणिनी वेद विद्याश्रम माध्यमिक विद्यालय सन्धिखर्क, सरस्वती माध्यमिक विद्यालय पाणिनी–आमडाँडा, सरस्वती भवन राष्ट्रिय माध्यमिक विद्यालय पाणिनी–३ खिदिम, भानु माध्यमिक विद्यालय पाणिनी–५ मैदान र सहिद मेमोरियल इङ्गलिस बोर्डिङ स्कुल छत्रदेव–४ बल्कोट रहेका छन् ।
यसैगरी, एसईई–२०८२ मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीमा जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क–२ चुत्राबेसीकी विदुषी खड्का, हिमालय इङ्गलिस बोर्डिङ स्कुल छत्रदेव–४ बल्कोटका आदर्श पौडेल, ज्ञानप्रकाश माध्यमिक विद्यालय सन्धिखर्क–१२ डिभर्नाकी ग्रीष्मा खनाल, गौरीशंकर इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क–१ का अनिषा खनाल र रिगल भट्टराई, सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क–२ चुत्राबेसीकी आषिका बञ्जाडे तथा अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क–२ बेलवाटिकाका विशाल थापा रहेका छन् ।
उता, सन्धिखर्क नगरपालिका शिक्षा शाखाको आयोजनामा राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा ‘गुणस्तर वृद्धिका लागि शैक्षिक परिसंवाद’ कार्यक्रम पनि सम्पन्न भएको छ । परिसंवादमा सहभागी वक्ताहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास, प्रभावकारी शिक्षण सिकाइ, प्रविधिको प्रयोग, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा विद्यालय र अभिभावकबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । वक्ताहरूले बदलिँदो समय र प्रविधिको विकाससँगै शिक्षण सिकाइमा नयाँ प्रविधि र विधिको प्रयोग बढाउनुपर्ने तथा विद्यार्थीलाई व्यवहारिक र जीवनोपयोगी शिक्षासँग जोड्नुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रमले जिल्लाको शैक्षिक गुणस्तर सुधार, उत्कृष्ट विद्यालय तथा विद्यार्थीको प्रोत्साहन र शिक्षासम्बन्धी साझा बहसलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।