
श्याम घिमिरे,
असोज ६ अर्घाखाँची । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसाल गौतमले आसन्न १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन हुनुपर्ने बताउनु भएको छ । मंगलबार सदरमुकाम सन्धिखर्कमा रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले वर्तमान आवश्यकता र समयको माग अनुसार काँग्रेसलाई नयाँ ढंगले अघि बढाउन थापाको नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेसका कार्यकर्ता र आम जनताले पनि थापालाई सभापतिको भूमिकामा हेर्न चाहेको उहाँको दाबी छ । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यमा भने सबै पक्षलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्नुपर्ने भुसाले बताउनुभयो ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र विवाद समाधान गर्दै सबै नेता तथा समूहलाई महाधिवेशनको प्रक्रियामा सहभागी गराउनुपर्ने भन्दै भुसालले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित अभिभावकका रूपमा स्वीकार गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउनुभयो । महाधिवेशन उद्घाटनका लागि देउवालाई आग्रह गरिएको जानकारी दिँदै भुसालले लोकतन्त्र र पार्टी निर्माणमा देउवाले गरेको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
भुसालले पार्टीभित्रको गुट–उपगुट अन्त्य गरी एकताबद्ध काँग्रेस निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । आगामी महाधिवेशनमा सबै नेता–कार्यकर्तालाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । देशका अधिकांश वडामा सहमतिबाट नेतृत्व चयन भएकाले वडा अधिवेशनले पार्टीपंक्ति र कार्यकर्तामा उत्साह थपेको भुसालको तर्क रहेको छ । आगामी नेतृत्वमा युवाको सहभागिता बढाउने गरी विधानमा व्यवस्था गरिएको भन्दै भुसालले ३५ वर्षमुनिका प्रतिनिधिमध्ये २१ जना केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
एक फरक प्रसंगमा उपसभापति भुसालले वर्तमान सरकारले जनमतको कदर गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको मञ्चमा जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे तथ्याङ्कसहित स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, वीरेन्द्र केसीको सञ्चालन र नवीन केसीको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।