
श्याम घिमिरे, असोज ८ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बिहीबार बिहान करिब ९ः१५ बजे किमडाँडास्थित पक्की सडकखण्डमा ट्र्याक्टर दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
सन्धिखर्कबाट किमडाँडातर्फ जाँदै गरेको लु ५ त ५५६ नम्बरको ट्र्याक्टर सडकबाट करिब १३० फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउलेचौपारी निवासी अन्दाजी ३६ वर्षीय ट्र्याक्टर चालक सुरज विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक तथा सुचना अधिकारी फलबहादुर तामाङले जानकारी दिनुभयो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा अनुसन्धानको काम अघि बढाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।