शुक्रबार ०९ आश्विन २०८३

श्याम घिमिरे असोज ९ अर्घाखाँची — लगातार तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण अर्घाखाँचीसहित आसपासका क्षेत्रमा सडक तथा यातायात प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सवारी आवागमन रोक्का गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डका विभिन्न स्थानमा पहिरो जाने क्रम सुरु हुनुका साथै भारी वर्षा भइरहेको र रातिको समयमा यातायात सञ्चालन गर्दा मानवीय तथा भौतिक क्षतिको जोखिम बढ्न सक्ने भएकाले सवारी आवागमन रोक्का गरिएको हो ।

कार्यालयका अनुसार २०८३ असोज ९ गते बेलुका ६ बजेदेखि २०८३ असोज १० गते बिहान ६ बजेसम्म अति आवश्यक तथा विपद् उद्धार प्रयोजनबाहेकका अन्य निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न÷नगराउन अनुरोध गरिएको छ । अत्यावश्यक अवस्थामा भने प्रहरी प्रशासनको अनुमति लिएर मात्र सवारीसाधन सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सडक तथा मौसमको अवस्था हेरी नागरिकलाई अनावश्यक यात्रा नगर्न तथा सम्भावित जोखिमबाट सुरक्षित रहनसमेत अनुरोध गरेको छ । वर्षाका कारण उत्पन्न समस्या तथा आपत्कालीन अवस्थाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।


Last Updated on: September 25th, 2026 at 6:16 pm
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑