मंगलबार २० आश्विन २०८३

श्याम घिमिरे,असोज १७ अर्घाखाँची
सन्धिखर्क नगरपालीका २, चुत्रावेसीमा अवस्थीत त्रिवेणीधाम भजन मण्डली समूहको आयोजनामा ज्येष्ठ नागरिक सम्मान, समुद्घाटन तथा सहयोगदाता सम्मान कार्यक्रम सनिवार सम्पन्न भएको छ । कार्यक्रममा भजन मण्डलीको धार्मिक तथा सामाजिक अभियानमा सहयोग पुर्याउने सहयोगदाताहरू तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई समाजका अनुभव, संस्कार र ज्ञानका धरोहरका रूपमा सम्मान गर्दै उहाँहरूको योगदानको कदर गरिएको हो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले त्रिवेणीधाममा सुरु भएको भजन–कीर्तनको व्यवस्थापन तथा संरक्षणकालागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रेष्ठले भजन–कीर्तन धर्म र संस्कृतिसंगै सामाजिक एकता र पुस्ताबीचको सम्बन्ध जोड्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

समुहका अध्यक्ष विष्णुप्रसाद बन्जाडेको अध्यक्षता,सदस्य बसन्ता पौडेलको स्वागत मनतब्य र सचिव खिमानन्द खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समुहका कोषाध्यक्ष ताराप्रसाद बेल्वासेले आयव्यय समेत प्रस्तुत गर्नुभएको थियो ।

त्रिवेणीधाममा हुने भजन–कीर्तनमा बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसमेत सहभागी हुँदै भक्तिभावमा रमाउने गरेका छन् । भजनका तालमा मञ्जिरा बजाउँदै छमछमी नाच्ने र भगवानको नामस्मरण गर्ने भक्तजनका कारण धामको वातावरण थप भक्तिमय र उल्लासमय बन्ने गरेको छ ।

यसैक्रममा त्रिवेणीधाम र ऐतिहासिक सती ढुङ्गाको धार्मिक महिमा आरती तथा भजनमार्फत प्रस्तुत गरिएको छ । भजनमार्फत स्थानीय धार्मिक आस्था, परम्परा र संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गरिएको आयोजकले जनाएको छ । त्रिवेणीधाममा गुञ्जिने भजन–कीर्तनले धर्म, संस्कार, सेवा, सम्मान र पुस्तौँदेखिको आस्थालाई एकै ठाउँमा जोड्दै धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा योगदान पु¥याएको छ ।

 


Last Updated on: October 4th, 2026 at 12:06 pm
६ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑