बिहिबार २९ आश्विन २०८३
श्याम घिमिरे

श्याम घिमिरे, असोज २७ अर्घाखाँची ।

प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले अर्घाखाँची जिल्लामा खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार निर्माण तथा स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि विशेष पहल गर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको ‘स्वर्गीय रमा देवी स्मृति टी–१० खुला क्रिकेट प्रतियोगिता’को उद्घाटन गर्दै सांसद भुसालले जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गर्न पर्याप्त खेलमैदानको अभाव रहेको उल्लेख गर्नुभयो । उहाँले खेलमैदान निर्माण तथा व्यवस्थापनका लागि सरकारले विशेष चासो दिनुपर्ने बताउँदै खेलकुदको विकाससँगै स्थानीय खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।

आयोजक परिवारका सदस्य राज क्षेत्रीको अध्यक्षता, मन्जु केसीको स्वागत मन्तव्य तथा विक्रम नेपालीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष हुमप्रसाद बन्जाडेलगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण अर्घाखाँची क्रिकेट संघले गरेको संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ र उपविजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई दुई हजार एक सय रुपैयाँ प्रदान गरिने सरोज रायमाझीले बताउनुभयो ।

उद्घाटन दिनका तीन खेलमा अर्घा भगवती, बाँगी र पाणिनी विजयी

यसैबिच प्रतियोगिताको पहिलो दिन भएका तीन खेलमा अर्घा भगवती क्रिकेट टिम, बाँगी क्रिकेट टिम र पाणिनी क्रिकेट टिमले जित निकालेका छन् । पहिलो खेलमा बाँगी क्रिकेट टिमले बाघमारा क्रिकेट टिमलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा अर्घा भगवती क्रिकेट टिमले द राइनो युवा क्लबलाई हराएको छ । त्यस्तै, तेस्रो खेलमा पाणिनी क्रिकेट टिमले वल्र्ड एम्सलाई पराजित गरेको आयोजकका सदस्य सुमन केसीले जानकारी दिनुभयो । प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीबीच प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


Last Updated on: October 14th, 2026 at 8:50 pm
२० पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑