बिहिबार २९ आश्विन २०८३
श्याम घिमिरे

श्याम घिमिरे, असोज २८ अर्घाखाँची ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवालीले जिल्लामा कानुनको पूर्ण पालना गराउँदै सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सबै नागरिकलाई समान व्यवहार गरिने स्पष्ट पार्दै कानुनी सीमाभन्दा बाहिर गएर आफूले कुनै काम नगर्ने र अरूलाई पनि गर्न नदिने बताउनुभएको हो । जिल्लामा हिजो मात्रै आइपुग्नुभएका प्रमुख जिल्ला अधिकारी ज्ञवालीले पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको समग्र विकास, सुशासन र समृद्धिका लागि आफू संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सञ्चारकर्मीहरूबाट सत्य, तथ्यपरक र निष्पक्ष समाचारको अपेक्षा गर्दै पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । समाचार सम्प्रेषण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने विषयमा ध्यान दिन आग्रह गर्दै उहाँले पत्रकारिताको व्यावसायिक मर्यादा र आचारसंहिता पालना गर्न पत्रकारहरूलाई अनुरोध गर्नुभयो ।

आफ्नै गृह जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सेवा गर्ने अवसर पाउँदा खुसी लागेको उल्लेख गर्दै ज्ञवालीले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, सुशासन प्रवद्र्धन गर्ने तथा सरकारी सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिने बताउनुभयो । सरकारी सम्पत्तिको दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्दै उहाँले त्यस्ता विषयमा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

जिल्लाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जिल्लावासीको हितमा जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो । कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।


Last Updated on: October 14th, 2026 at 7:34 pm
१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑