बिहिबार २९ आश्विन २०८३
श्याम घिमिरे

 

अर्घाखाँचीको मालारानी गाउँपालिकाले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय खनलाई प्रशंसापत्र प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई र प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले इलाका प्रहरी कार्यालय खनका प्रमुख प्रहरी निरीक्षक फलबहादुर तामाङलाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिका क्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्ने, अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र अवैध सामग्रीको ओसारपसार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रहरी कार्यालयको कार्यसम्पादनको प्रशंसा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईका अनुसार प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पुर्याएको योगदानको कदरस्वरूप प्रशंसापत्र प्रदान गरिएको हो ।

त्यस्तै, गाउँपालिका र प्रहरीबीचको समन्वय तथा सहकार्यले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो । उहाँले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रहरी कार्यालयको कार्यसम्पादनको प्रशंसा गर्दै प्रशंसापत्र प्रदान गरिएको यस कार्यले आगामी दिनमा पनि शान्ति सुरक्षा कायम गर्ने अभियानमा थप उत्साह र जिम्मेवारी बढाउने अपेक्षा गरिएको छ
।


Last Updated on: October 15th, 2026 at 11:22 am
३ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑