
श्याम घिमिरे मंसीर १,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते हनुभएको छ । मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । आगलागीका क्रममा गोठमा बाँधिएको भैँसी फुकाउने प्रयास गर्दा बस्यालको अनुहार र दायाँ हात जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते बस्याललाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको अर्घाखाँची अस्पतालले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी अर्घा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । आगो नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयवासी परिचालित भएका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन । घटनाबाट गोठ तथा त्यहाँ रहेका सामग्रीमा भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।