
ओखलढुंगा, २ मंसिर —ओखलढुंगा सर्जकचौतारीको पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित अनलाइन खुला गजल प्रतियोगितामा अर्घाखाँची, भूमिकास्थान ९ का गजलकार डिल्लीराज घिमिरे (सङ्गम) ले दोस्रो पुरस्कार हात पारेका छन् ।
अनलाइनमार्फत भएको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट ५४ जना गजलकारहरूले सहभागिता जनाएका थिए । कडा प्रतिस्पर्धाका बीच घिमिरेले उत्कृष्ट गजल प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएका हुन्। उनले रु. १,५०१ नगद राशिसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला) को जन्मभूमि ओखलढुंगाले साहित्यिक परम्परालाई निरन्तरता दिँदै आएको छ । सोही गौरवशाली भूमिबाट आयोजित यस प्रतियोगितामा पुरस्कृत हुनु आफ्ना लागि थप विशेष भएको गजलकार घिमिरेले बताए ।चौतारीले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा साहित्यिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन गजल प्रतियोगिता आयोजना गरेको हो ।
पुरस्कृत भएपछि गजलकार घिमिरेले आयोजक टिमलाई धन्यवाद दिँदै भने, “ओखलढुंगा साहित्य चौतारीको सम्पूर्ण आयोजक टिमलाई हृदयदेखि नै धन्यवाद । यस्ता प्रतियोगिताले देशभर छरिएका गजलकारलाई एउटै मञ्चमा ल्याउने काम गरेको छ । यो सम्मानले मलाई गजल साधनामा अझै अगाडि बढ्न हौसला मिलेको छ ।“
पुरस्कृत गजल :
सर्वोच्च पुग्न साथी मेरो मिसाल छैन
मुद्दा लिएर हिँड्ने केही सवाल छैन
मनमा हताश बोकी शङ्का नगर्नू प्यारी
यो नित्य प्रेममाथि धोका र जाल छैन
संवेद्य प्यार घोल्दा तिम्रा नयनहरूमा
मार्तण्डको उज्यालो छेक्ने दिबाल छैन
तत्काल जिन्दगीमा ऊर्जा थपेर फेरि
तिम्रो नयनको आँसु पुछ्ने रुमाल छैन
मान्दैछ हार अहिल्यै याँ रक्त कोषिकाले
यमराज रोक्न सक्ने कुनै त्रिपाल छैन।
✍️ डिल्लीराज घिमिरे (सङ्गम)
भूमिकास्थान ९, अर्घाखाँची