
श्याम घिमिरे
११ मंसिर २०८३, अर्घाखाँची ।
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा भोलि (मंसीर १२ गते) हुने भएको छ । सहकारी सञ्चालक समितिको १९२ औं बैठकको निर्णयअनुसार साधारणसभा आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष रुद्र श्रेष्ठले जानकारी दिनुभयो ।
सन्धिखर्कस्थित टुँडिखेलको सभाहलमा सनिवार बिहान १०ः३० बजेदेखि सुरु हुने साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था, आगामी योजना तथा विभिन्न महत्वपूर्ण कार्यसूचीमाथि व्यापक छलफल हुने उपाध्यक्ष डिलाराम भुसालले बताउनुभयो ।
स्थापनाको चौध वर्षे यात्रामा विभिन्न क्षेत्रबाट पटक–पटक पुरस्कृत तथा सम्मानित हुँदै आएको साथी सहकारी जिल्लाका ठूला र उत्कृष्ट सहकारी संस्थामध्ये एकका रूपमा परिचित छ । सहकारीले बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई विभिन्न सामाजिक कार्यक्रम र रचनात्मक गतिविधिमार्फत सदस्यसँगै समग्र जिल्लावासीको मन जित्न सफल भएको संस्थाका सचिव विष्णुप्रसाद बन्जाडेले बताउनुभयो ।
यसैबीच, संस्थाले भोलि आयोजना हुने साधारणसभामा सम्पूर्ण शेयर सदस्यहरूलाई निर्धारित समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।