सोमबार ११ जेठ २०८३

केपी भुसाल ‘अजस ’

बज्थे ढोलक ती अतीव नगरा, सुन्दै तमासा पुरा,
सोच्थें मै पनिता मनै वहकमा, नानाथरीका कुरा, 
बाजाका सुरतालको रनकमा,नाँच्थे खुसीभै अरू,
गाउँथे मनका ब्यथा र अठवा,सुन्थें दुखी के गरूँ ?

आयौ आँगनमा खुसीमन तिमी,मुस्कान छर्दै थियौ,
तिम्रा लोचनले सिधै सहचरी खोज्दै मलाई थियौ,
मेराहात थिए भरी कलशका, शृङ्गार माला पुरा,
तिम्रो स्वागतमा जुटेँ तर मता डर्थें तिमी नै छुदा,

लायौं आपसमा खुसी मनसगी साटेर माला अनि,
सौगात ती सुखका दुवै तरफका स्वीकार गर्यौं पनि,
बस्यौं मण्डपमा दुवैजनहरू हेर्थे अरूता खुबै,
बक्थे जे गुरुवर्ग पूजनहुदा मान्थ्यौं दुबैले सबै,

मेरो यो शिरको बचाउ नहुने जाँनेर झस्क्यें जसै,
बेला भो शुभलग्नको तबभने काँपें म थर् थर् उसै,
पायें सिँन्दुर भाग्यको लहरमा बन्यौ तिमी वाहक,
ढाकें मै शिरता खुशी जतनले औचित्य तिम्रो हक,

रातो सिँदुरले पवित्र सिउदो दागी बनायौ तिमी,
बट्टा सिँन्दुरको नयाँ अति थियो जान्थें कसोरी तिमी ?
बाँध्यौ यो तनता खुलेर सहजै बन्धन् भयो सिँन्दुर,
आमाबाबु दुवैदुखी सकसले मेरा भए निष्ठुर ,

मेरासोँच विचार कुण्ठित भए केही विचैमा रहे,
केगर्ने अव भोलिका दिनसबै तिम्रै भरोसा भए,
मेरो जन्मथलो भयो परपरै टाढा हुदैपो गयो,
मेरो जन्महुदा निसान थरको नामेटपो भै गयो,

मेरा लाज र राग देह बिचका तिम्रै भरोसा भए,
मेरा सान र मानका चुरिफुरी टुक्रेर धुलो भए,
भित्री जीवनका विभोर पनिता सारा तिमीमा रहे,
लाग्यो बार फलामको सरहनै होला मिलेमा जय ।।

प्रकाशन मिति : २०७९ फागुन १९


Last Updated on: August 24th, 2024 at 3:57 am
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया