
श्याम घिमिरे
बैशाख ३१, अर्घाखाँची –
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, चुत्राबेसीस्थित जनज्योति माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बिहीबार एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । कार्यक्रममा ४.०० जिपिए प्राप्त गर्दै अर्घाखाँची जिल्लामै प्रथम हुन सफल छात्रा विदुषी खड्का सहित उत्कृष्ट नतिजा हासिल गर्ने अन्य विद्यार्थीहरूलाई दोसल्ला, प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद बेल्वासेले जनज्योति माविले हासिल गरेको सफलता सम्पूर्ण जिल्लाकै गौरवको विषय भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै मेहनती विद्यार्थी, समर्पित शिक्षक र अभिभावकबीचको सहकार्यले उत्कृष्ट नतिजा सम्भव भएको धारणा व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमल प्रसाद भुसालले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने उदाहरण जनज्योति माविले प्रस्तुत गरेको बताउनुभयो । उहाँले विद्यालयको निरन्तर प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि विद्यार्थीहरूलाई अध्ययनशील बन्न आग्रह गर्नुभयो ।
सन्धिखर्क नगर शिक्षा शाखा प्रमुख मञ्जु आचार्यले विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीबीचको समन्वयकै कारण यस्तो ऐतिहासिक सफलता हासिल भएको बताउनुभयो । उहाँले जनज्योति माविको उपलब्धिले जिल्लाभरका सामुदायिक विद्यालयलाई सकारात्मक प्रेरणा दिएको उल्लेख गर्नुभयो ।
पूर्व विद्यार्थी समाजका लक्ष्मण पराजुलीले आफ्नो पुरानो विद्यालयले जिल्ला प्रथम विद्यार्थी उत्पादन गरेकोमा गर्व लागेको बताउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पूर्व विद्यार्थीहरूको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला प्रथम छात्रा विदुषी खड्काले आफ्नो सफलताको श्रेय शिक्षक, अभिभावक र विद्यालयले प्रदान गरेको सकारात्मक वातावरणलाई दिँदै निरन्तर मेहनत, समय व्यवस्थापन र आत्मविश्वासका कारण यो सफलता हासिल गर्न सकेको बताउनुभयो । उहाँले आगामी अध्ययन यात्रामा पनि उत्तिकै लगनशील र मेहनती रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य माधव प्रसाद आचार्यको अध्यक्षता,शिक्षक तेजुराम पराजुलीको स्वागत मनतब्य र लालमणी पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
यस वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी ६३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजाअनुसार १ जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गरेका छन् भने ६ जनाले ३.६० भन्दा माथिको जिपिए हासिल गरेका छन् । त्यसैगरी ३५ जना विद्यार्थीले ३.०० भन्दा माथि तथा २१ जना विद्यार्थीले ३.०० भन्दा कम जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ ।