
श्याम घिमिरे,
२०८३ जेठ ९ अर्घाखाँची –
सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानं १० को धरमपानीमा सनिवार एकदिने वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिरमा वातजन्य रोगहरू,नशा सम्वन्धी रोगहरू, छाला सम्वन्धी रोगहरू,श्वासप्रश्वास सम्बन्धी रोगहरू, आँखा,मुख सम्वन्धी रोगहरू, पिसाब सम्वन्धी रोगहरू,पाइल्स,फिस्टुला,फिसर, जन्डिस,मधुमेह (सुगर), प्रेसर, बालरोग साथै महिलाहरुमा हुने प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न रोग सम्बन्धी समस्या भएका १६५ जनाको स्वास्थ्य परीक्षण गरीएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले बताउनुभयो । शिविरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवा संगै परीक्षणसहित आयुर्वेदिक औषधी समेत निशुल्क बितरण गरीएको औषधालयका प्रमुख जनैदारले जानकारी दिनुभयो ।
शिविरको एक कार्यक्रमका बिच सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दे नगरप्रमुख श्रेष्ठले व्यक्तिको ठुलो सम्पती भनेको उसको स्वास्थ्य भएकोले आफ्नो शरीरलाई सधै स्वथ्य मस्त र व्यस्त राख्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले आगामी दिनमा आयुर्वेद सेवालाई अझ प्रभावकारी रुपमा अगाडी बढाउने लक्ष्य रहेको भन्दै आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जिवन जिउन सहजहुने बताउनुभयो । उहाँले शिविरबाट भरपुर फाईदा लिन स्थानियहरुलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले यस्ता स्वास्थ्य शिविरले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो सहयोग पुगेको बताउनुभयो ।
शिविरमा आयुर्वेद चिकित्सक डा. अनिता भुसाल, डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलकजंग जनैदारलगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । नगरपालिकाले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा एकदिने वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
