
मंसिर ३, एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज आइतबार भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।
आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्व कप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ । विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

विजेतालाई ४० लाख अमेरिकी डलर
विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ। यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ। उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ।
सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन्।समूह चरणबाटै घर फर्केका ६ टिमले भने १–१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन्। लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन्।