
मंसिर ४, भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा आइताबार भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो ।
भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएकाे थियाे । अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।

विराट कोहली सर्वोत्कृष्ट खेलाडी
यसैबिच विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्। भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए।