
मंसिर २४ -एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल दाेस्राे खेलमा पनि पराजित भएकाे छ । आज आइतवार अफगानिस्तानसँगकाे खेलमा नेपाल ७३ रनले पराजित भयाे । अफगानिस्तानले दिएकाे २ सय ६२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४० ओभर १ बलमा १ सय ८८ रनमा अल आउट भयाे । नेपालका अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि राम्राे अङ्कमा रन जाेड्न सकेनन् । नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बाेहरा १५, दिपेश कँडेल ११, सुवाश भण्डारी ८, उत्तम मगर ४ तथा विपिन रावल, आकाश त्रिपाठी र हेमन्त धामी शून्य रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका फरिदून दवूदजाई र नसिर खानले समान ३ तथा माेहम्मद युनुसले २ विकेट लिए ।
यसअघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयाे । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।

नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएकाे थियाे । प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।
मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ । source:ujyaaloonline