पुस १३- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको छ । शुक्रवार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनु भयो । उहाँका अनुसार गोली लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।
त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
यसैबिच ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना र प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्य संयोजक रहेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका गृह मन्त्रालयले जनाएको छ । समितिलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।
यता राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज विज्ञप्ति निकालेर घटनाको अध्ययन अनुसन्धान थालिएको पनि जनाएको छ । प्रारम्भिक अध्ययनबाट प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिएको आयोगले जनाएको छ ।